गृहमन्त्री, घाँस र दोपाया जन्तु – खगेन्द्र संग्रौला

प्रयोगकर्ता utsuk द्धारा प्रकाशित गरीएको

23 Oct
2009

अहिले गणतन्त्रकालमा गृहमन्त्री भीमबहादुर रावल छन्, पहिले शाही आतंककालमा टंक ढकाल सञ्चारमन्त्री थिए। कसोकसो यी गृहमन्त्रीको हंसमा ती सञ्चारमन्त्रीको औतार सवार भएझैँ लाग्छ। टंक ढकाल कसैले नसुनेका, कसैले नचिनेका ओखलढंगे भूपू मण्डले मानव थिए। ज्ञानेन्द्र शाहले मौलिक प्रकारको हैकम चलाउन चित्रविचित्रका जीव बटुले। श्रीलंकाको रबरघारीबाट पिता महेन्द्रका अनन्य सेवक श्री तुलसी गिरीलाई टिपेर ल्याए। कांग्रेस र एमालेको आदर्शको वृक्षबाट कुहेर झरेका श्री प्रकाश कोइराला र आरके मैनालीलाई सत्ताको बल्छीमा अल्झाए। जातजातिको बाना ट्याक्क मिलाउन जनजाति महलका श्रीमान् गोरेबहादुर खपांगीलाई खरिद गरे। र, राजनीतिक वृत्त बाहिरबाट दुई विज्ञलाई भर्ती गरे। ती थिए, पानी पण्डित दिपक ज्ञवाली र निपुण चिकित्सक उपेन्द्र देवकोटा। यी दुई टीके हजुर शाही कुशासन चलाउन भर्ती गरिएका अन्य पात्रका खोटा निधारमा लगाइने शोभायमान टीकासरह थिए। यसरी राजा ज्ञानेन्द्रले आफ्नो मन्त्री मण्डलमा चारै जातको फूलबारीको भ्रम दिने गरी पात्र चयन गरे। र, तिनलाई लाग्यो, मेरा बहुविध पात्रहरू सिंगो मुलुककै प्रतिनिधि हुन्। र, म हुँ यी प्रतिनिधिहरूको पनि प्रतिनिधि। अर्थात् ‘म’ माने सिंगो राष्ट्रको पर्याय, सिंगो राष्ट्रको धड्कन ।

यसरी बनेको शाही बुख्याँचा मन्त्रीमण्डलका अति जोसिला र फुर्तिला फिल्डमार्सल थिए सञ्चारमन्त्री श्री टंक ढकाल। यी मानव खुबै दुर्मुखा थिए। पत्रकारहरूलाई पक्राउ गर्नु, कुट्नु र थुन्नु यिनको थेगोजस्तै थियो। स्वतन्त्र र आलोचनाशील सञ्चार शाही हैकमको सबैभन्दा ठूलो टाउको दुखाइको विषय हुन गयो। तसर्थ टाउको दुःखाइ कम गर्न श्री ढकालले नाइटामा ओखती घस्ने नीति अपनाए। त्यो नीति थियो, साम, दाम, दण्ड, भेद चारै जुक्ती प्रयोग गरी पत्रकारलाई थला बसाउनु। यो दमनको प्रयोजन गोयबल्स शैलीको सहाराले शाही दमनलाई लोककल्याणमा, शाही भ्रष्टाचारलाई सदाचारमा, शाही अनैतिकतालाई नैतिकतामा, शाही त्रू्करतालाई करुणामा र शाही लुटलाई दानदातव्यमा परिणत गर्नु थियो।

टंक ढकाल जहाँजहाँ जान्थे, हातमा नोटरूपी हरियो घाँसको अदृश्य मुठो बोकेरै जान्थे। सके पत्रकारहरूलाई हरियो घाँसले लोभ्याएर वशमा पार्नु, नसके मनोवैज्ञानिक आतंक र भौतिक दण्डको सहाराले तिनको तेजोबध गर्नु, तिनका मुख थुन्नु र मौनताको साम्राज्य खडा गर्नु – यस्तो थियो ज्ञानेन्द्रकालीन संचार नीति। घाँस खान लालायित हुने पत्रकार नामधारी चौपायालाई ढकाल बाजेले राम्रैसँग घँस्याए। जब शाही तानाशाही परमधाम भयो तब खुला समाजमा यी चौपायाका नाउँ लोकनजरमा परिहाले। लाख-लाखको हरियो घाँस खानेको लामै लर्को दृष्टिगोचर भयो। यो लर्कोमा एकजना लज्जालु, अल्पभाषी, शिष्टभाषी र अन्तर्मुखी स्वभावका निष्ठावान् पत्रकारको नाम पनि प्रकट भयो। यो कथा पहेलीजस्तो छ। तिनका नाउँमा कसैले सही धस्काएछ र तिलस्मी शैलीमा खल्तीमा आठ हजार रुपियाँ खुत्रुक्क खसाइदिएछ। यो न्यून रकममाथि लोकले उच्च स्तरको ठट्टा गर्‍यो। कि त घाँस नखानू, कि गोजेरो पुटुस्स हुने गरी खानू, नाकै कटाएर नाथे आठ हजार रुपियाँ पनि के खानु? सोझा पत्रकारमाथि कसैले ग्य्रान्ड डिजाइन गर्‍यो र पापीले उनको कञ्चन नाकमा कहिल्यै नमेटिने कलंक लगाइदियो। धान खाने चोट्टा मुसो, बरा चोट पाउने लाटो भ्यागुत्तो!

जब शासकहरू जनताका नजरमा गिर्छन्, जब शासकहरू सत्यको ध्वजा उठाउने स्वतन्त्र विवेकदेखि थर्कमान हुन्छन् र जब भयाक्रान्त शासकहरू आफ्नो कुशासनको आयु लम्ब्याउन मूढेबलको शरण पर्छन् तब शासनको आसनमा अरौटे टंक ढकालको उदय हुन्छ। अहिले गृहमन्त्री भीमबहादुर रावलको भेषमा उनै टंक ढकालको प्रेतवायुको उदय हुन लागेको आभास भइरहेछ। मिस्टर रावल हातमा उही नोटरुपी हरियो घाँसको अदृश्य मुठो बोकेर हिँडिरहेछन्। पत्रकारहरूलाई भत्ता खुवाएर लोकहितमा लगाउनु यिनको भन्ने कुरो हो। यिनको गर्ने कुरो चाहिँ पत्रकारलाई लोभ्याएर सरकारी जासुसमा परिणत गर्नु हो। यस दुष्कर्मको प्रयोजन हो, भ्रष्ट शासनको कुरूप र विरूप रूप उदांगिन नदिनु। र, त्यसलाई उदांग्याउन खोज्नेलाई सके खरिद गरेर भ्रष्ट शासनको दास बनाउनु, नसके सत्ताको लौहअस्त्र देखाएर अत्याउनु, दिग्भ्रमित तुल्याउनु, वाणी हरण गर्नु र दमन गर्नु। आखिर ज्ञानेन्द्र महाराजका अतीव आज्ञाकारी सेवक श्री ढकालले योभन्दा ज्यादा के नै पो गरेका थिए र?

टल्किनेजति सबै जिनिस सुन हुँदैनन् भनी सेक्सपियर बाजेले उहिल्यै भनेथे। श्री रावलमा यो सत्य घटित भएको देख्दा मेरो मन त्यसैत्यसै खिन्न भएको छ। म सम्झन्छु, एमालेको नेपालगन्ज महाधिवेशनमा रावल गुरुका नाउँमा एउटा कथा कथिएथ्यो। त्यहाँ महाकाली सन्धिको पक्ष र विपक्षका जोदाहाहरू जंगी थुमा जुधेझैँ जुध्दै थिए। कथाले भन्यो – सन्धिको पक्षमा घुँडा धसेर रावलले विपक्षीलाई बन्दुक ताके। अनि एमालेगणकै कमरेडहरूले श्री रावललाई ‘बन्दुके काजी’को पगरी गुथाइदिए। सुनेर मैले पत्याइन। पश्चिम पहाडको दुर्गम र विकट भेगबाट उठेका, विद्यार्थी कालमा मण्डलेतन्त्रसँग दह्रा चालले जुधेका र केही पढेलेखेका रावलले दिमाग र जिब्रो छँदाछँदै कसरी बन्दुक ताके हुनन् र? तर, अहिले यी रावल पत्रकार खरिद अभियानमा डटेका देख्दा यिनलाई गुथाइएको ‘बन्दुके काजी’को पगरीमाथि विश्वास गर्न म अभिशप्त छु।

एक हातमा बन्दुक र अर्को हातमा हरियो घाँस बोकेर जब गृहमन्त्री श्री रावल प्रकट भए, पत्रकार महासंघका पदाधिकारी बन्धु अताल्लिए। तिनले रावलीय योजनाविरुद्ध गरमागरम छलफल चलाए, भर्त्सनाकारी वक्तव्य जारी गरे र आक्रोशित जुलुससमेत निकाले। यो महासंघको कर्म र धर्म दुवै हो। जे गरियो, ठीकै गरियो। तर लाग्छ, महासंघका मित्रहरूको चिन्ताको साइज भने अलि ठूलो भो। हाम्रो पत्रकारिता जगत्मा जीहजुरी, सत्ता दलाली र ब्ल्याकमेल गरिखाने पत्रकारको जमात ठूलै होला। यो जमातले श्री रावलको हरियो घाँस खाइदिन्छ त हाम्रो पत्रकारिताको निष्ठा, सच्चाइ र सामर्थ्यमा के फरक पर्छ? आफ्नो पेसामा जो सक्षम छ, जसको जीवनशैली आफ्नो आर्जनको चारकिल्लाभित्र सीमाबद्ध छ, जो स्वतन्त्रता र स्वाभिमानको हेक्का राख्छ, र जो सत्ताको आहालमा विवेक बन्धक नराख्न कर्तव्यबद्ध छ, उसले रावलीय हरियो घाँसतिर हेरेर पिच्च थुकिदिने छ। कत्राकत्रा शाही टंक ढकालको पत्रकार खरिद गर्ने कुत्सित योजनाले त हावा खायो भने नाथे रावलबाबुको पत्रु योजनाले के लछार्छ?

कतिपय बौद्धिक सामर्थ्य र प्राविधिक सीपका गरिब एवं सिक्ने अथक लगन र काम गर्ने अटुट जाँगर नहुनेहरू प्रायः दुईवटा धन्दामा लाग्ने प्रवृत्ति प्रचलित छ। ती कि त पत्रकार बन्छन् कि एनजीओ खोल्छन्। यस महलका थुप्रै जीव अहिले माओवादीमा प्रवेश गर्न तँछाडमछाड गरिरहेछन्। यिनका दाउ खुलस्त छन्। आज माओवादी नेताको हातबाट टीका थाप्दै तीसँग कुम जोडेर तस्बिर खिचाउनु र भोलि त्यो तस्बिर भँजाएर सुस्वादु भोजन गर्नु। अनि भोलि माओवादी सत्ताशीन भए सत्ता दलाली गरेर गर्नु नगर्नु गर्नु। यस महलका लम्पट जीवहरूले रावल काजीको हरियो घाँस खान्छन् त के नै पर्लय हुन्छ?

पत्रकार महासंघका पेसानिष्ठ र सत्यनिष्ठ बन्धुहरूको चिन्ता घटाउन मलाई एउटा अचुक उपाय सुझाउन मन छ। महासंघको मूल द्वारमा बडाबडा अक्षरमा एउटा सूचना टाँगौँ।

सूचनामा एक हातमा बन्दुक र अर्कोमा घाँसको मुठो बोकेका गृहमन्त्री श्री रावलको भव्य कार्टुन सजाऔँ। र, कार्टुनमुनि भनौँ – पीडित एवं कर्मनिष्ठ सोझा पत्रकारका दुःखबाट सिकौँ! दोपाया जीव भएर चौपाया जन्तुले झैँ रावल महोदयको मायावी घाँस नखाऔँ! बस्, टन्टै खलास।

-नागरिक

फेसबुकका साथीहरुकहाँ पुर्‍याउनुहोस् ।

सम्बन्धित शिर्षकहरु :

3 Commentsस्रष्टाको सोच सम्बन्धित चिनोटहरु:

3 गुनासोहरु प्राप्त भएका छन्, तपाईको स्वस्थ प्रतिकृयाको अपेक्षा गर्दछौँ । कृपया भद्दा, अश्लिल र कसैको व्यक्तिगत चरित्र हत्या गर्ने किसिमका प्रतिकृया दिने कष्ट नगर्नुहोला । *प्रतिक्रिया सुरुमा मोडरेसनमा जाने भएकोले प्रकाशित हुन केही समय लाग्नसक्छ, दोहोर्‍याएर लेख्नु जरुरी छैन ।
  • Comment by
    pravin
    18 Dec 2009

    khagen jee you r very respected writer, i am your fan but due time you are using language of moaist.

  • Comment by
    dipendra chaulagain
    28 Jan 2010

    this not ur gud reason u r the bad write your thinkig is not good plz cxhang your thinkimg ok plz u r bad writer

  • Comment by
    bijay lama
    3 May 2010

    khagendra dai malai thaha chha tapai ramro writer hunuhunchha kinavane tapaile sahi kura lai bislesan garera jantashamu lyaunu hunchha.


नाम (अनिवार्य):


इमेल (अनिवार्य छ, तर प्रकाशित गरीने छैन):


वेबसाइट (ऐच्छिक)

Viagra | Adderall | Viagra Online | Levitra | Free Viagra | Cheap Viagra