16 Oct
2009
पुरुषहरू महिला चिकित्सकबाट स्थायी बन्ध्याकरण गराउन चाहँदैनन् । यसबाट पुरुषहरू पनि यौनका बारेमा खुलस्त हुन अझै लजाउँछन् भन्ने पुष्टि हुन्छ । नेपाल परिवार नियोजन सङ्घका चिकित्सकहरू बरु महिलाहरू पुरुष चिकित्सकबाट स्थायी बन्ध्याकरण गराउन नलजाउने गरेको तर पुरुषहरू भने महिला चिकित्सकबाट बन्ध्याकरण गराउन इच्छुक नहुने गरेको बताउँछन् ।
सङ्घले सञ्चारकर्मीहरूका लागि आयोजना गरेको पुरुषको यौन समस्याका बारेमा अभिमुखीकरण कार्यक्रममा सङ्घका मेडिकल डाइरेक्टर डा. दीव श्रेष्ठले पुरुषहरूले हत्तपत्त महिला चिकित्सकबाट बन्ध्याकरण गराउन नचाहने गरेको बताउँदै भन्नुभयो, अपरेसन कक्षमा महिलालाई देखेर पुरुषहरू नमान्ने गरेका पनि छन् । उनीहरूलाई सम्झाइ बुझाइ गरेपछि राजी हुने गरेका छन् ।
कार्यक्रममा विशेषज्ञहरूले पुरुषहरूले अझै पनि यौन समस्या लुकाउने गरेको, श्रीमतीलाई पनि त्यस बारेमा भन्न नचाहने र परीक्षण गराउन गइहाले पनि चिकित्सकलाई खुलस्त भन्न नचाहने गरेको बताए ।सङ्घका उपमहानिर्देशक डा. गिरिधारी शर्मा पौडेलले सामाजिक, सांस्कृतिक तथा धार्मिक कारणले पुरुषहरूले यौन समस्याका बारेमा खुलस्त हुन नचाहने गरेको बताउँदै आफ्नो यौन स्वास्थ्यका बारेमा श्रीमान्-श्रीमतीबीच छलफल हुन पर्ने सुझाव दिनुभयो ।
सार्वजनिक अपहेलनामा परिने हो कि भन्ने भ्रम, यौनलाई प्रतिष्ठाको विषय बनाउने, सार्वजनिक गरे विवाह नहोला कि भन्ने डर, यौन विषय गोप्य भएकाले यसलाई गोप्य नै राखिनुपर्दछ भन्ने भ्रम, सामाजिक जनचेतनाको कमी, यौन समस्या महिलाको मात्र हो भन्ने सोचाइ आदिका कारण पुरुषहरूले यौन समस्याका बारेमा खुलस्त भन्न नचाहेको कार्यक्रममा बताइयो ।
पुरुषहरूले साथीभाइ, परिवार वा चिकित्सकआदिसमक्ष प्रत्यक्ष रूपमा यौन स्वास्थ्यका बारेमा जिज्ञाशा राख्न हिचकिचाउने गरे पनि टेलिफोनबाट भने निर्धक्कसित सोध्ने गरेका छन् । सङ्घले यौन जिज्ञाशाका बारेमा हटलाइन सेवा सुरु गरेको छ । यसमा दैनिक ५० जना जतिले टेलिफोन गर्ने गरेका र तीमध्ये अधिकाङ्श पुरुष हुने गरेको बताइएको छ ।
सङ्घका अनुसार अधिकाङ्श फोन यौन चाहनाका बारेमा आउने गरेको छ भने सबैभन्दा बढी काठमाडौँ उपत्यका र सुदूरपश्चिमबाट आउने गरेको छ ।
यौन स्वास्थ्यसम्बन्धीका क्लिनिकहरूमा प्रायः महिलाको प्रजनन् स्वास्थ्यका बारेमा मात्र पोस्टर झुण्ड्याइएका हुन्छन् । यसबाट पनि पुरुषहरूले क्लिनिकहरूले महिलाका लागि प्रजनन् स्वास्थ्य सेवा दिने गरेको ठान्छन् र आफ्नो यौन समस्याका बारेमा जचाउन त्यहाँ कमै जाने गर्छन् ।मेडिकल डाइरेक्टर डा. श्रेष्ठले पुरुषहरूमा बाँझोपन, यौन इच्छा नहुनु, प्रोस्टेट क्यान्सरजस्ता यौन स्वास्थ्यसम्बन्धी समस्या हुने गरेको बताउनुभयो ।
फेसबुकका साथीहरुकहाँ पुर्याउनुहोस् ।सम्बन्धित शिर्षकहरु :
No Commentsयौन
सम्बन्धित चिनोटहरु: खोज/जानकारी, यौन
यो शिर्षकमा अहिले सम्म कसैले कमेन्ट गर्न भ्याएका छैनन् । पहिलो कमेन्ट गर्ने अवसर नगुमाउनुहोस् । तपाईको स्वस्थ प्रतिकृयाको अपेक्षा गर्दछौँ । कृपया भद्दा, अश्लिल र कसैको व्यक्तिगत चरित्र हत्या गर्ने किसिमका प्रतिकृया दिने कष्ट नगर्नुहोला । *प्रतिक्रिया सुरुमा मोडरेसनमा जाने भएकोले प्रकाशित हुन केही समय लाग्नसक्छ, दोहोर्याएर लेख्नु जरुरी छैन ।